तेह्रथुम । साहित्यिक चेतनाको अभिवृद्धि गर्ने उद्देश्यसहित तेह्रथुम जिल्लाको छथर गाउँपालिकास्थित छथर क्याम्पसमा कविता कार्यक्रम सम्पन्न भएको छ। स्वतन्त्र विद्यार्थी युनियनको समन्वय तथा छथर साहित्यिक समाज, शुत्रबारे (तेह्रथुम)को आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो।
साहित्य क्षेत्रमा विविध गतिविधि गर्दै आएको छथर साहित्यिक समाजले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको सक्रिय सहभागितामा कार्यक्रम आयोजना गरेको समाजका सचिव रोशन यात्रीले जानकारी दिनुभयो। उहाँका अनुसार विद्यार्थीहरूलाई सिर्जनात्मक लेखनतर्फ प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले साहित्यले समाजलाई सकारात्मक दिशातर्फ डोर्याउने महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। क्याम्पसस्तरमै यस्ता सिर्जनात्मक कार्यक्रम हुनु खुसीको विषय भएको उल्लेख गर्दै उहाँले स्थानीय तहले साहित्य, कला र संस्कृतिको प्रवर्द्धनमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
विशेष अतिथि म्याङ्लुङ क्याम्पसका उपप्राध्यापक एवं तेह्रथुम साहित्य प्रतिष्ठानका अध्यक्ष दिपक कट्टेल ‘आयाम’ले गजल, कविता र मुक्तकजस्ता विधाबारे विद्यार्थीहरूलाई जानकारी गराउँदै आफ्ना सिर्जना प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा छथर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद पराजुली, शिक्षा शाखा प्रमुख धनबहादुर थापा, टाट्नो सङ्गीत यात्राका अध्यक्ष मनु कट्टेल, स्वतन्त्र विद्यार्थी युनियनका सभापति सुनिल खड्का, नेपाल पत्रकार महासङ्घ तेह्रथुमका उपाध्यक्ष विनोद भट्टराईलगायत सबिन पोख्रेल, चन्द्रकला कार्की, जीवन दाहाल, बबिता कार्की, रचना खड्का, चण्डिका घोर्साने लगायतका स्रष्टाहरूको उपस्थिति थियो। सहभागी स्रष्टाहरूले कविता, अनुभूति र विचारमार्फत समाज, समय र चेतनालाई कलात्मक ढङ्गले प्रस्तुत गरेका थिए।
सो अवसरमा साहित्यकार टामकान्त लुइँटेल र ‘दिपक कट्टेल ‘आयाम’’ ले साहित्य र सिर्जनाका विविध पक्षबारे सहजीकरण गर्दै आफ्ना रचना प्रस्तुत गर्नुभएको थियो। छथर साहित्यिक समाजका अध्यक्ष दिनेश थापा ‘बेगारी’का अनुसार कार्यक्रममा सहभागी स्रष्टाहरूले रचनामार्फत समाज र समयको यथार्थलाई सशक्त रूपमा अभिव्यक्त गरेका थिए।
कार्यक्रमकै क्रममा साहित्य क्षेत्रमा योगदान पुर्याएको कदरस्वरूप ‘दिपक कट्टेल ‘आयाम’’लाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो। साथै कार्यक्रमको सफल आयोजनामा सहकार्य पुर्याएको भन्दै छथर क्याम्पस र स्वतन्त्र विद्यार्थी युनियनलाई पनि सम्मान गरिएको छ।








