
तेह्रथुमको छथर गाउँपालिकाले शुक्रबारे बजारको अव्यवस्थित बसोवासीको रुपमा घर/टहरा निर्माण गरि बसोबास गर्ने नागरिकहरुको लागि भुमी समस्या समाधान आयोग कार्यविधि बमोजिम अनलाइन प्रविष्टि गरि गाउँपालिकाबाट घर नम्बर सहित निस्सा वितरण गर्ने भएको छ ।
मिति २०८२/०५/१७ गते बाट छथर गाउँ कार्यपालिकाको कार्यालयबाट गरिने भएकोले सम्बन्धित घर धनीहरुले आफ्नो घर अगाडि उभिएको देखिने रंगिन फोटो सहित देहायको मितिमा सम्बन्धित टोलका घर धनी अनिवार्य उपस्थित हुन अनुरोध गरेको छ । (सम्बन्धित घर धनीको उपस्थिति अनिवार्य गरीएको छ )
# आवश्यक समन्वयको लागि सम्बन्धित टोल विकास समितिका पदाधिकारीलाई सम्पर्क गर्न अनुरोध गरेकोछ ।
देहाय
१.मिति २०८२/५/१७ गते (अस्पताल टोल विकास)
२.मिति २०८२/५/१८ गते(रत्नदेवि टोल विकास)
३.मिति २०८२/५/१९ गते (काङसोरे टोल विकास)
४.मिति २०८२/५/२० गते (आहालडाडा टोल विकास)
५.मिति २०८२/५/२१ गते (शान्ति टोल विकास)
६.मिति २०८२/५/२२ गते (सरस्वती टोल विकास)
७.मिति २०८२/५/२३ गते (श्रीजंगा टोल विकास)
क्रमस: भुमिहिन दलित,भुमिहिन शुकुम्बासी र अव्यवस्थित बसोबासीको विवरण प्रविष्टि सहित निस्सा वितरण गरिने छ ।
तेह्रथुम जिल्लाको छथर गाउँपालिकाले ५४ जना ज्येष्ठ एकल पुरुषलाई नगदसहित सम्मान गरेको छ । “समृद्ध छथर निर्माणको आधार, शिक्षा,स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार” भन्ने नाराका साथ सञ्चालित उक्त कार्यक्रममा प्रत्येक एकल पुरुषलाई १२ हजार रुपैयाँ नगद तथा सम्मानपत्र प्रदान गरिएको हो ।


२०७७ सालदेखि संचालनमा ल्याइएको यो कार्यक्रम अन्तर्गत नेपाल सरकारको सामाजिक सुरक्षा भत्ताबाट वञ्चित रहनु परेका, ६० वर्ष उमेर नाघेका एकल पुरुषहरूलाई गाउँपालिकाले अभिभावकत्व प्रदान गर्दै नगदसहित सम्मान गरिएको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताउनु भयो ।

“जसरी एकल महिलाको पहिचान र संरक्षणका लागि राज्यले पहल गरिरहेको छ, त्यसरी नै समाजमा ओझेलमा परेका एकल पुरुषहरूको जीवन सहज बनाउन हामीले यो कार्यक्रम अघि सारेका हौँ ।” अध्यक्ष तिगेलाले भने । कार्यक्रम सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा, छथर गाउँपालिकाको आयोजनामा सम्पन्न भएको शाखा प्रमुख रोशक कार्कीले बताउनु भयो ।

सम्मान प्राप्त गरेका छथर गाउँपालिका ५ का गोबर्धन लिम्बुले यो कदमले आफू जस्ता वृद्ध पुरुषहरूलाई ठूलो राहात मिलेको बताए । “अहिले काम गर्न सक्ने उमेर छैन, कमाउन सक्ने स्रोत पनि छैन । यस्तो सहयोगले मनैदेखि राहत मिल्यो,”लिम्बुले भने । गाउँपालिकाले ज्येष्ठ नागरिकहरु लक्षिक विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको जनाएको छ ।
कमल, १ असार : झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसीजले आज (आइतबार) लागुपदार्थ दुव्यर्सनी विरुद्धको सचेतना र संकल्प तालिम कार्यक्रम सम्पन्न गरेको छ।
कमलनगर जेसीजको आयोजना तथा कमल गाँउपालिका वडा नं. ०१ को वित्तिय सहयोगमा श्री बाँसबारी माध्यमिक विद्यालय कमल–०१ बाँसबारीमा अध्ययनरत विद्यार्थीहरु माझ लागु पदार्थ दुव्यर्सनी विरुद्धको सचेतना र संकल्प तालिम कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रमको अध्यक्षता कमलनगर जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी भिम अधिकारीले गर्नुभएको थियो भने कार्यक्रमका संयोजकत्व वर्ष २०२५ का उपाध्यक्ष जेसी डिजा घिमिरे गर्नु भएको थियो । कार्यक्रममा कमल गाँउपालिका वडा नं. ०१ वडा अध्यक्ष तथा कमलनगर जेसीजका पूर्व अध्यक्ष जेसी केदार कटुवालको प्रमुख आतिथ्यता रहेको थियो ।
कक्षा ९ र १० मा अध्ययनरत विधार्थीहरु मध्ये ५९ जना विद्यार्थीहरुलाई एस.एस. बालग्राम ईटहरीका काउन्सिलर मनकुमार गुरुङ्गले लागुपदार्थ दुव्र्यसनले व्यक्तिगत, पारिवारीक तथा सामाजिक जीवनमा पार्ने नकारात्मक प्रभावहरु र तिनको समाधानका उपायहरुबारे प्रयोगात्मक र अन्तरक्रियात्मक ढंगले प्रशिक्षण दिनु भएको थियो ।
यस कार्यक्रमले विद्यार्थी, अभिभावक र विद्यालय समुदायलाई लागुपदार्थको दुष्प्रभावप्रति सचेत गराउनुका साथै स्वस्थ्य बालबालिका, उज्यालो भविष्य र जिम्मेवार समाज निर्माणतर्फ एक प्रेरणादायी कदमको रुपमा अगाडी बढेको कमलनगर जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी भिम अधिकारीले बताए ।
कार्यक्रममा कमलनगर जेसीजका वर्ष २०२५ का बोर्डका पदाधिकारीहरु, संयोजकहरु, पूर्वअध्यक्षहरु, सदस्यहरु, श्री बाँसबारी माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष तथा सदस्यहरु, प्रधानध्यापक एवम शिक्षकहरुको उपस्थिति रहेको थियो ।
पाँचथरको हेवाँ खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।
स्थानीय स्रोतका अनुसार शनिवार दिउँसो पुलको संरचना जडानका क्रममा अचानक भाँचिएपछि दुर्घटना भएको हो। बेलिब्रिज भाँचिँदा काममा खटिएका निर्माण मजदुरहरु खोलामा खसेका थिए। घटनामा एक मजदुरको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ भने अन्य तीन जना गम्भीर घाइते छन्।
घाइतेहरुलाई उद्धार गरी उपचारका जिल्ला अस्पताल ल्याइदै गरेको स्थानियले बताएका छन् ।
घटनाको विस्तृत विवरण र मृतक\घाइतेको नाम खुलेको छैन।
निर्माण कम्पनी तथा सम्बन्धित सरकारी निकायबाट घटनाको आधिकारिक विवरण आउन बाँकी छ।
न्युज श्रोत : चिन्तनखबर डटकम ।
राष्ट्रिय युवा संघ नेपाल छथर पालिका कमिटीको दोस्रो पालिका अधिवेशन सम्पन्न भएकोछ । शनिबार सम्पन्न भएको पालिका अधिवेशन बाट भरत कार्कीको अध्यक्षतामा २५ सदस्यीय कमिटी निर्माण भएको हो ।

अधिवेशनले अध्यक्षमा भरत कार्की,उपाध्यक्षमा पदम लिम्बू, सचिबमा लोकेन्द्र बस्नेत, उपसचिवमा एन्जल कार्की, उपसचिवमा दिनेश खुलाल, कोषाध्यक्षमा सुमन कुमारी लिम्बु चयन हुनुभएको छ ।
अधिवेशनको खुल्ला सत्र निवर्तमान अध्यक्ष लोकमान मादेनको अध्यक्षता तथा राष्ट्रिय युवा सघ नेपाल जिल्ला कमिटी तेह्रथुमका अध्यक्ष राजकुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा पार्टी तथा जनवर्गीय संगठनका नेताहरुले शुभकामना मन्तव्य दिनुभएको थियो ।
साथै राष्ट्रिय युवा सघ नेपाल जिल्ला कमिटी तेह्रथुमको ११ जिल्ला अधिवेशन सघ स्थापना दिवसको अवसरमा ज्येष्ठ १ गते सस्थापक अध्यक्ष तथा पार्टी अध्यक्ष सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मघर आठराई गाउपालिका इवामा संचालन हुने जिल्ला अध्यक्ष थापाले बताउनु भयो ।
नेकपा एमालेले पञ्चायतका समयमा नेताहरुको भूमिगत अनुभव समेटेर ‘सेल्टर’ पुस्तक प्रकाशन गरेको छ ।
पुस्तकका सम्पादक समेत रहेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले तत्कालीन नेकपा माले, त्यसअघिका को-के सहित विभिन्न घटकको पार्टी राजनीतिमा नेताहरुले बिताएको भूमिगत अनुभव पुस्तकमा समेटिएको बताएका छन् ।पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली सहितका नेताहरुले उक्त पुस्तकको विमोचन गरेका छन् ।
शिक्षक आन्दोलनका बीच नै कक्षा १२ को परीक्षा निर्धारित समयमा गराइने भएको छ । सरकारले निजामती कर्मचारी खटाएर भए पनि वैशाख ११ देखि परीक्षा सञ्चालन गर्ने भएको हो ।
राष्ट्रिय परीक्षा बोर्डको बैठकमा निजामती कर्मचारी खटाउन सकिनेबारे अधिकांशले सकारात्मक धारणा राखेका थिए ।
उनीहरूको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘निजामती कर्मचारीले लोकसेवा आयोगको परीक्षा त सञ्चालन गर्न सक्छन् भने १२ कक्षाको नसक्ने कुरै हुँदैन ।’
बोर्ड बैठकपछि राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षमा महाश्रम शर्माले विद्यालय र विद्यार्थीहरूले परीक्षा समयमै गर्न अनुरोध गरेको बताए ।
उनले भने,‘परीक्षा केन्द्र तोकिसकिएको छ । परीक्षा समय मै होस् भनेर हरेक अनुरोध आएको छ । आज पनि हामीले हरेक जिल्लाको परीक्षा समन्वय समितिलाई परीक्षा केन्द्र तोकिएको विद्यालयमा परीक्षा सञ्चालनको आवश्यक तयारी गर्न भनेका छौं ।’
साढे ५ लाख विद्यार्थीको भविष्य गाँसिएकाले यो परीक्षा सञ्चालन गर्नैपर्नेमा उनको जोड थियो ।
राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकको बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा नरोकिने र निर्धारित मितिमै हुने जानकारी दिए ।
शिक्षक तथा कर्मचारीहरुको जारी आन्दोलन र शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाका कारण कतिपयले कक्षा १२ को परीक्षा निर्धारित मितिमा हुनेमा शंका गरेका थिए ।
तर आज बिहान बसेको बोर्ड बैठकले सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समिति मार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।
परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले पनि द्विविधा नराखी परीक्षाको तयारी गर्न अनुरोध गरे । ‘परीक्षा हुन्छ । निर्भीक भएर तयारी गर्न विद्यार्थीहरुलाई अनुरोध छ,’ परीक्षा नियन्त्रक शर्माले भने ।
प्रगितिशील लेखक संघ संखुवासभाको आयोजना तथा कुमाल समाज नेपाल , संखुवासभा को ब्यबस्थापनमा यही २०८२ बैसाख ५ गते शुक्रबार दिनको २:०० बजे सङ्खुवासभा जिल्लाको तुम्लिङटारमा रहेका कुमाल समुदायको वस्तीमा प्रलेसको “गाउँगाउँमा प्रलेस टोलटोलमा साहित्य “कार्यक्रमको दोश्रो सृङ्खला साथ शुभकामना आदानप्रदान” सम्पन्न भएको छ।
कुमाल समुदाय आफ्नै भाषा संस्कृति भएको माटोको भाँडा बनाउने परम्परागत पेशा भएको अरुण उपत्यकाको अल्पसङ्ख्यक सीमान्तकृत आदिबासी जनजाति हो।कार्यक्रममा उहाँहरुसँग ‘कला जीवनका लागि’प्रस्तुत गरियो।बालबालिकासँग बसियो,लेख्न सिकाइयो र प्रतिस्पर्धा गराइयो।उत्कृष्ट बालबालिकालाई पुरस्कृत गरियो।
कार्यक्रममा ३५ जना बालबालिकालाई कपी कलम वितरण गरी कार्यक्रमका सभापति ताराबहादुर बुढाथोकीले कविता लेखन सीप सिकाए।जसमध्ये सोनु कुमाल,सलिना श्रेष्ठ,कृष्टिना दुत्पाउ,युनिस गौतम,सोनिया कुमाल,सुसान्त अधिकारी, दीक्षा कुमाल,सुमित्रा कुमाल,रेजिना कुमाल,स्मारिका कुमाल,विवसा कुमाल,आदर्श कुमाल,स्पन्दन दिक्पाल,रेजिना मगर लगायत १४ जना बालबालिकाले कविता रचना गरेर सुनाए। सोनिया कुमाल-प्रथम,सलिना श्रेष्ठ द्वितीय र दीक्षा कुमाल तृतीय पुरस्कार प्रप्त गर्न सफल भए।
कुमाल समाजको हलमा सम्पन्न उक्त कार्यक्रममा कुमाल समाजको समितिले साउन्ड सिस्टम,चिया तथा पुरस्कारको व्यवस्था गरेको थियो। प्रलेस सदस्य भुवन हलिदेले सन्चालन गरेको उक्त कार्यक्रममा कुमाल समाजका कोषाध्यक्ष अरुणा कुमालले स्वागत मन्तब्य राखेकी थिइन्।कवि कृष्ण बहादुर चापागाई,कवि बिरेश राई ,कवि राम गुरुङ ,कवि गुरु प्रसाद सुबेदी, कवि मैया बजगाइ र सुशीला कुमाल मगरले आफ्ना गजल तथा कविता प्रस्तुत गरेका थिए। कार्यक्रममा शिक्षक मित्रा कुमारी राइ, शिक्षक सबित्रा पन्त सुवेदी, शिक्षक खड्गकुमारी दाहाल, लगायत विद्यार्थी भाइबहिनीहरु र कुमाल समाज का पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वक्ताहरुले कुमाल समुदायको वस्तीमा प्रशिक्षण सहितको कवि गोष्ठी आयोजना गर्नुको दुरगामी महत्व रहेको साथै प्रलेसले नितान्त सही स्थान र सही समुदाय छनोट गरेको बताए। कार्यक्रमका सभापति समेत रहेका प्रलेस जिल्ला समिति अध्यक्ष तारा बहादुर बुढाथोकीले”
जहाजले उड्छु भन्यो,
तिमीले बस्ती छोडिदियौ।
मोटरले गुड्छु भन्यो,
तिमीले छाप्रो तोडिदियौ।
परियोजनाले बस्छु भन्यो
तिमीले दोसल्ला ओडिदियौ।
बिकास अघि सर्दै गयो
तिमी पछि पर्दै गयौ।….”कुमाल जातिको जीवन्त कविता सुनाउँदै नितान्त पछाडि पारिएको समुदायमा प्रगतिशील र जनवादी साहित्य रचना गर्न प्रेरित गर्नु र सुनाउनु शहरमा सुकिलाहरुबिच कविता गोष्ठी गर्नुभन्दा महत्वपूर्ण हुने ठानी आफूहरुले कुमाल बस्ती रोजेको कुरा बताए।मल बोकेका नरनारीहरु पनि मलको भारीसँगै उभिएर टाढा टाढाबाट माइकको आवाज सुनिरहेका थिए।

राष्ट्रिय जनसास्कृतिक महासङ्घ जिल्ला कमिटी तेह्रथुमको आठौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । बिहिवार नेकपा एमाले जिल्ला पार्टी कार्यालयमा सम्पन्न अधिवेशनमा पार्टी नेतृत्वहरु सहित महासङ्घ केन्द्रीय सदस्य तथा नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष सन्तोष तिगेला , महासङ्घ कोशी प्रदेश उपाध्यक्ष हेमराज अधिकारी लगायत विभिन्न पालिकाबाट प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । अधिवेशनले रोशन खुलालको अध्यक्षतामा १९ सदस्यीय कमिटी निर्वाचित गरेको छ । कमिटीको उपाध्यक्षमा युवराज भट्टराई, महिला उपाध्यक्षमा राधिका ढुंगाना, सचिव जानुका अधिकारी, सहसचिब डिबी लिम्बू, कोषाध्यक्ष सुनिता गुरुङ र सहकोषाध्यक्षमा ज्ञानु तामाङ रहनुभएको निवर्तमान जिल्ला इन्चार्ज हेमराज अधिकारीले वताउनु भयो । अधिवेशनमा पार्टी नेता तथा महासङ्घ नेताहरुले बधाई तथा शुभकामना ब्यक्त गर्नुभएको थियो । साथै महासङ्घको कोशी प्रदेश अधिवेशनका लागी जिल्लाबाट प्रतिनिधि समेत छनोट गरिएको नव निर्वाचित अध्यक्ष खुलालले जानकारी दिनुभयो ।