
विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कोशी प्रदेश सभाको बैठक बहिष्कार गरेको छ ।
सोमबार जारी प्रदेश सभाको बैठकमा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनका लागि प्रस्ताव पेश गरेका छन् ।

मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेशसभा बैठक राप्रपाले बहिष्कार गरेको हो ।
६ जना प्रदेशसभा सदस्य रहेको राप्रपाका कुनै पनि सांसद बैठकमा उपस्थित भएका छैनन् ।
रुकुमको नुवाकोटबाट दाङको तुलसीपुर आउँदै गरेको गाडी दुर्घटनामा परेको छ।
लु २ ख ५७३१ नम्बरको यात्रुबाहक गाडी सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ३ आगरखोलामा दुर्घटनामा परेको हो।
सल्यानका प्रहरी प्रमुख, डिएसपी दामोदर केसीले सोमबार अपराह्न ३ बजेतिर सल्यानको कपुरकोट क्षेत्रमा गाडी दुर्घटनामा परेको बताए।
दुर्घटनास्थलमा प्रहरी र स्थानीय बासिन्दा पुगेका छन्। घाइतेको उद्धार जारी रहेको उनले बताए। घाइते १२ जनालाई कपुरकोट हुँदै दाङको तुलसीपुर ल्याइँदै छ भने अन्य दुई जना सामान्य घाइते छन्।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।
काठमाडौं । नेकपा एमाले सचिवालय बैठकले गरेको मञ्चमा आसन ग्रहणको भिडभाड नगर्ने निर्णय कोसी प्रदेशमा कार्यान्वयनमा आएको छ ।
नेकपा एमाले कोशी प्रदेश प्रचार तथा प्रकाशन विभागले सोमबार विराटनगरमा आयोजना गरेको योजना तर्जुमा तथा प्रचार कार्यशालामा मञ्चमा सभाका अध्यक्षलाई मात्र राखेर कार्यक्रम प्रारम्भ गरिएको छ । कार्यक्रमका अतिथिहरू दर्शक दीर्घाको पहिलो रोमा बस्नु भएको छ ।
दर्शक दीर्घाको पहिलो लहरमा कार्यक्रमका प्रमुख अतिथि पार्टी सचिव तथा कोशी प्रदेश इञ्चार्ज रघुवीर महासेठ, स्थायी कमिटी सदस्य तथा केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, स्थायी कमिटी सदस्य एवं कोशी प्रदेशमा एमाले संसदीय दलका नेता हिक्मत कार्कीसहित सहितका अतिथि बस्नु भएको छ । त्यस पछि क्रमशः कार्यक्रमका सहभागीहरू बस्नु भएको छ ।
तथ्यको आधारमा अफवाहलाई तोड्ने अठोटसहित भेला सुरु भएको हो । भेलाले कोशी प्रदेशको प्रचार योजना बनाउने छ ।

सनराइजखबर बाट साभार ।
काठमाडौँ, ४ भदौ : नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँँदै छ ।
यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यस वर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो ।
नाग पूजाको प्रचलन वैदिककालदेखि नै सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । बराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिनमा नागपूजाका लागि प्रसिद्ध मानिन्छ ।
झापा । अर्जुनधारा नगरपालिका-६ की ३० वर्षीया कमला मुर्मु इराकमा अज्ञात गिरोहको बन्धक बनेको जनाउँदै उनकी आमाले उद्धारका लागि अपिल गरेकी छिन् ।
तीन वर्षअघि विसं २०७७ भदौ १० गते वैदेशिक रोजगारीका क्रममा ओमान लाने भनेर कमलालाई मानव तस्करले इराक पुर्याएर बेचेको उनकी आमा लखी मुर्मुले जानकारी दिइन् ।
‘ओमान लाने भनेर इराक पुर्याएछन्’, पीडितकी आमा लखीले कमलाको फोटो देखाउँदै भनिन्, ‘६ महिनासम्म कुनै सम्पर्क हुन सकेन । त्यसपछि भ्वाइस म्यासेजमार्फत बेला–बेला एकोहोरो सम्पर्क हुँदा छोरीले मलाई बन्धक बनाइएको छ, उद्धार गर्नुपर्यो आमामात्र भनिरहेकी छन् ।’
तीन वर्षदेखि बन्धक अवस्थामा रहेको खुलासा भए पनि कमलाको उद्धारका लागि सरकारी निकायबाट कुनै प्रयास हुन सकेको छैन । दोहोरो सम्पर्क हुन नसकेका कारण कमलालाई इराकको कुन सहरमा बन्धक बनाइएको हो भन्नेबारेमा प्रष्ट हुनसकेको छैन ।
कमलाकी आठ वर्षकी छोरी काजल मुर्मुको लालनपालन हजुरआमा लखीले नै गरिरहेकी छिन् । काजल स्थानीय ग्लोबल भिजन स्कुलमा कक्षा ५ मा अध्ययनरत छिन् । भारतको गुजरातमा रहेका पतिले छाडेपछि कमला जीविकाका लागि वैदेशिक रोजगारीमा जान बाध्य भएकी हुन् ।
इटहरी बाँसबारीका गोविन्द कट्टेल र बिर्तामोड-१ का मदन खरेलले ओमानमा राम्रो रोजगारीमा लगाइदिने भन्दै कमलालाई इराक पुर्याएको परिवारको दाबी छ ।
इराकमा बन्धक बनाउने गिरोहले कमलासहित दर्जनौँ महिलालाई घरेलु श्रममा लगाउने र त्यसबाट आर्जित नगद खोस्ने गरेको कमलाले भ्वाइस म्यासेजमार्फत बताएकी छन् ।
‘अर्काको घरमा मरुन्जेल काममा लगाउँछन् र कमाएको पैसा पनि खोसिदोरहेछ’, छोरीको भ्वाइस म्यासेजबाट आएको खबरलाई उद्धृत गर्दै पीडितकी आमा लखीले भने, ‘चाउचाउ र कहिलेकाहीँ रोटी आधापेट खान दिन्छन् । काममा जान आनाकानी गर्यो भने पिट्छन् । घरमा सम्पर्क गर्नसमेत दिँदैनन् ।’
बन्धक बनेकी कमलाले भ्वाइस म्यासेजमार्फत आफ्नो उद्धार नभए गिरोहले मार्ने त्रास रहेको जनाउँदै आएको उनकी आमा लखीले बताइन् । कमलाले खान नदिने मात्र नभएर चिसो भुइँमा सुत्न बाध्य पारेको र चर्को श्रम शोषण गरिरहेको बताउने गरेकी छन् ।
‘दिउँसो कामका बेला सम्पर्क हुने सम्भावना हुँदैन’, लखीले बन्धक बनेकी छोरीको त्रासदीपूर्ण अवस्था सुनाउँदै भनिन्, ‘गिरोहका मान्छेहरू सुतेको मौका छोपेर घरको चार तलामाथि लुकेर मोबाइलबाट सानो स्वरमा भ्वाइस म्यासेज पठाएको भन्छिन् । यो थाहा पाए भने मार्छन् भन्ने डर छ ।’
गिरोहले गाडीमा ओसारेर विभिन्न घर र कम्पनीमा लगेर काम लगाउने र ल्याउने गर्दै आएको कमलाकी आमा लखीले बताइन् । बाहिरी संसारमा कसैसँग सम्पर्क गर्ने सम्भावना नभएकोसमेत उनले बताइन् ।
पीडित परिवारका तर्फबाट इलाका प्रहरी कार्यालय, वडा कार्यालय, नगरपालिका र माइती नेपाललगायतका उद्धार संस्थामा घटनाको जानकारी गराइसकेको धेरै समय बितेको छ । ती निकायले समेत उद्धारका लागि चासो नदेखाएको परिवारको गुनासो छ ।
गत वर्ष परिवारले नै एजेन्टलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा ल्याएर छलफल चलाएको थियो । त्यसबेला इटहरीका गोविन्द कट्टेल स्वदेश फर्काउने प्रतिबद्धता जनाएर फुत्किएका थिए । अहिले कट्टेल र खरेल दुवै सम्पर्कमा आउन चाहेका छैनन् ।
समुन्नत नेपालकी अध्यक्ष कोपिला बस्नेतले कमलाको शीघ्र उद्धारका लागि कतैबाट पहल नभएपछि पीडितकी आमा लखी आफ्नो सम्पर्कमा आएको बताइन् ।
‘गरिब र आदिवासी समुदायको व्यक्ति भएकाले कसैले आफ्नो कुरा नसुनेको उहाँको गुनासो थियो’, अधिवक्तासमेत रहेकी बस्नेतले भनिन्, ‘कमला मुर्मु बिरानो मुलुकमा बन्धक अवस्थामा हुनुहुन्छ । सरकारी र प्रशासनिक क्षेत्रबाट उहाँलाई छिटो उद्धारको प्रयास गर्न आग्रह गर्दछु ।’
मुर्मु परिवारको छिमेकी सङ्गीता प्रसाईँ वंशलले उद्धारका लागि अनुरोध गरेर प्रहरी, प्रशासन र नेतासमक्ष धेरै धाइसक्दा कुनै परिणाम नआएको दुःखेसो पोखिन् । ‘सङ्घीय संसद्की उपसभामुख इन्दिरा राना र कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको गृहनगरसमेत यही अर्जुनधारा हो’, उनले भनिन्, ‘अब उहाँहरूसँग मात्र भेट्न बाँकी छ ।’
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं पूर्वसांसद रेशम चौधरीमाथिको जन्मकैदमाथि राष्ट्रपति रामचन्द्र पौडेलले गरेको माफी मिनाहालाई सर्वोच्च अदालतले नै गम्भीर प्रश्न उठाएको छ ।
सर्वोच्च अदालतले बहुचर्चित टीकापुर घटनासम्बन्धी मुद्दाको पूर्णपाठ सार्वजनिक गर्दै त्यसलाई ‘क्रुर, अमानवीय र सभ्य समाजमा सोच्नै नसकिने खालको घटना’ भनी व्याख्या गरेको हो ।
सर्वोच्च अदालतले व्याख्यामा भनेको छ, ‘रेशम चौधरी नेतृत्वको भीडले जीवनदानको भिख मागेका ८ जना प्रहरी कर्मचारीलाई लाठी, ढुङ्गा, बन्चरो प्रहार गरी, आँखामा भाला रोपी शरीरमा खर, पेट्रोल, मट्टीतेल खन्याई जलाउने र शवहरू क्षत–विक्षत गर्ने जस्तो सभ्य समाजको अपेक्षा र मानवीय चेतना विरुद्ध अत्यन्त अमानवीय, क्रुर र निर्मम ढङ्गले ज्यान मारेको देखिन आई कसुर शङ्का रहित तवरले पुष्टि हुन आयो ।’
सर्वोच्च अदालतको यो फैसलाले रेशम चौधरीमाथिको माफी मिनाहा बदर हुने अवस्था देखापरेको पूर्व महान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता रमेश बडालले बताए ।
‘एक त फैसलाको पूर्णपाठ नआउँदै सरकारले माफी मिनाहाको प्रक्रिया अघि बढाएर राष्ट्रपतिबाट निर्णय गराएको थियो, त्यो आफैंमा गलत थियो’ बडालले अनलाइनखबरसँग भने, ‘अर्कोतर्फ क्रुरतापूर्वक र अमानवीय रुपमा ज्यान मारेको घटनामा माफी मिनाहाको परिकल्पना कानूनमा छैन । सर्वोच्च अदालतको यो फैसलाले घटनालाई अत्यन्त अमानवीय र सभ्य समाजमा कल्पना गर्न नसकिने घटना भनेपछि त्यसमा संलग्नहरुले कसरी माफी मिनाहा पाउने अवस्था हुन्छ र ?’
नेपालको संविधानको धारा २७६ मा माफी मिनाहाको व्यवस्था छ । जसमा भनिएको छ– ‘राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुन बमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्नेछ ।’
संविधानले कानुन अनुसार मात्रै माफी मिनाहा र मुल्तवीको विषय औंल्याएको छ । त्यसका लागि मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ को दफा १५९ मा सजाय माफी दिन सकिने व्यवस्था छ । जस अनुसार, अदालतको फैसला बमोजिम ठेकिएको सजाय पाएको व्यक्तिले सो सजाय माफी पाउन, त्यसलाई मुल्तवीमा राख्न, परिवर्तन गर्न वा कम गर्न गृह मन्त्रालय मार्फत राष्ट्रपतिसमक्ष निवेदन दिन सक्नेछ ।
ऐनमा माफी मिनाहा चाहने व्यक्तिले अदालतको फैसलाको प्रतिलिपि संलग्न गर्नुपर्ने व्यवस्था थियो । तर सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ नआउँदै रेशम चौधरीको माफीमिनाहाको फाइल गत वैशाखमै अघि बढेर टुंगिएको थियो ।
त्यही ऐनमा ‘क्रुर र अमानवीय तरिकाले वा नियन्त्रणमा लिई ज्यान मारेको व्यक्तिले माफी मिनाहा पाउने छैन’ भन्ने व्यवस्था छ । कानुनमा भएको व्यवस्था र सर्वोच्च अदालतले बुधबार सार्वजनिक गरेको फैसलाको पूर्णपाठले रेशम चौधरीले जन्मकैदको सजाय पूरै कार्यान्वयन गर्नुपर्ने परिस्थिति बनेको बडाल बताउँछन् ।
‘असल चालचलनले कैद मिनाहा पाउने परिस्थिति नै थिएन, माफी मिनाहाको विषय समेत फैसलाको पूर्णपाठले स्पष्ट गरिदिइसकेको छ’ उनले भने, ‘माफी मिनाहा दिने निर्णय विरुद्ध सर्वोच्च अदालतमै अर्को रिट निवेदन परिसकेकाले यो फैसलालाई हेरेर सर्वोच्च अदालतले नै बाँकी व्याख्या गर्न सक्छ ।’
गोरखा । उत्तरी गोरखाको चमनुब्री गाउँपालिकाले सिसाजन्य सामग्री प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।
साउन ३१ गते सूचना जारी गदै पालिकाले भदौ मसान्तभित्र पालिकालाई सिसाजन्य सामग्रीको प्रयोगमा पूर्ण रुपमा प्रतिबन्ध लगाउने जनाएको हो ।
उक्त अवधिभित्र सिसाजन्य सामग्रीको वैकल्पिक प्रयोगको व्यवस्था गर्न पालिकाले सबै उद्योगी, व्यापारी, व्यवसायी तथा आम सर्वसाधारणमा समय सीमा दिएको छ ।
पालिकालाई सिसामुक्त बनाई सफा र सुन्दर गाउँपालिका निर्माणको महान अभियानमा सहयोग पुर्याउन गाउँपालिका अध्यक्ष निमा लामाले आग्रहसमेत गरेका छन् ।
यसअघि सो गाउँपालिकाको गाउँसभाले चुमनुब्रीलाई सिसामुक्त बनाउने निर्णय समेत गरेको थियो ।
चुमनुब्री गाउँपालिकामा मनास्लु आरोहण, लार्केपास, चुम तथा नुब्री उपत्यका भ्रमणका लागि विदेशी पर्यटक प्रसस्त आउने गर्छन् ।
सिसामुक्त गाउँपालिकाको सन्देशले पर्यटकसमेत बढ्नेमा विश्वास गरिएको छ ।
अनलाइन खबर बाट सभार




